नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ फागुन

कमल थापाले ‘राप्रपा नेपाल’ पार्टी घोषणा गरेका छन् । आज (शनिबार) राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर थापाले आफ्नो नेतृत्वमा राप्रपा नेपाल घोषणा गरेका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा थापले पार्टी घोषणा गरेका हुन् । राप्रपाको निर्वाचनमा राजेन्द्र लिङ्देनसँग पराजित भएको केही समयपछि थापाले राप्रपा पार्टी परित्यागको घोषणा गरेका थिए । लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालमा थापा अध्यक्ष बनेका छन् । लाक्पाले थापालाई अध्यक्ष स्वीकारेर पार्टी कमल थापाको जिम्मा लगाएका हुन् । तत्कालीन राप्रपा नेपाल राप्रपामा समाहित भएपछि लाक्पाले राप्रपा नेपाल आफ्नो नेतृत्वमा दर्ता गराएका थिए ।
‘मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ । यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिन छैन भन्ने कसम खाएको थिएँ । गीता सनातन धर्मावलम्बीहरूको एउटा महान् ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिले फुटाउँदिन मलाई सम्झना छ । मलाई आज यो भन्दा खुसी लाग्छ कि मैले राप्रपा फुटाइँन ’ थापाले भने ।
