नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन ।

सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पाँच दलीय गठबन्धनको आजको बैठकमा मुख्यगरी एमसीसीको विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरू सहभागी छन् ।
प्रधानमन्त्री देउवाले गठबन्धन बैठकअघि आफू निकट नेताहरुसँग आन्तरिक छलफल गरेका थिए । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी परियोजना तत्कालै संसद्मा टेबुल गर्ने पक्षमा छन् भने माओवादी एमसीसी पेस गर्न नहुने बताउँदै आएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी टेबल गर्न दिने भए पनि यथास्थितिमा पारित गर्न नदिने पक्षमा छ । यस्तै गत बिहीबार र शुक्रबार बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो । माओवादी केन्द्रले देउवाले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोड्न सक्ने चेतावनी पनि दिएको छ ।
