नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ८१५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार ३३८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५१ हजार ३९४ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ । जसमा ११ हजार ७५४ जना होम आइसोलेसनमा छन् भने ४९० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १३६ संक्रमित आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७५ हजार ५५९ र एन्टिजेन विधिबाट १ लाख ३८ हजार ५९७ जना पुगेको छ ।