नवकान्तिपुर संवाददाता
काठमाडौं, १० फागुन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ४२४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र दुई हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९२८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ८३१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५३ हजार ४३० जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ७४७ रहेको छ । जसमा १० हजार ३६७ जना होम आइसोलेसनमा छन् भने ३८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११५ संक्रमित आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७५ हजार ८०६ र एन्टिजेन विधिबाट १ लाख ३८ हजार ९१५ जना पुगेको छ ।