नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य दुई हजार ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार रहेकोमा बुधबार रु ९६ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० रहेकामा बुधबार प्रतितोला रु ९६ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बुधबारको मूल्य भन्दा ३५ रुपैयाँ बढ्दै एक हजार ३५५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार ३२० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।