नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न सक्ने बताएका छन् । आज (बिहीबार) प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पौडेलले पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न सक्ने बताए ।
उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको स्पष्ट पारे । पौडेलले भने, ‘सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ।’ वरिष्ठ नेता पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गरे ।’उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ’, उनले भने ।
एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसिसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए । ‘एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो’, उनले भने ।
