नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ फागुन ।

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बस्ने बनिएको बैठक पनि स्थगित गरिएको हो । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।
बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले फागुन १५ गते दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक फागुन १५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको गौतमले जानकारी दिए ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि छलफल हुने कार्यक्रम रहेको थियो । गत फागुन ८ गते अर्थमन्त्री अनुपस्थित भएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबुल गरेका थिए ।
यसअघि बिहीबार तय भएको बैठक स्थगित भएको थियो । सभामुख अग्निप्रसाद सापकोटासमक्ष कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिका लागि बैठक स्थगित गरिदिन आग्रह गरेका थिए ।मन्त्रीद्वयको आग्रहपछि बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
सूचना
