नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ फागुन ।

सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) आजै संसदबाट अनुमोदन गर्नेमा सहमति भएको छ। आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमति भएको हो ।
एमसीसी आजै पारित हुने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पौडेलले एमसीसी नेपालको संविधान अनुरुप लागू हुने पनि बताए । व्याख्यात्मक टिप्पणीमा याे इण्डाेप्यासिफिक रणानीति अन्तर्गतकाे हाेइन र याे विशुद्ध विकास सहयाेग हाे भन्ने कुराहरू समावेश गरी साे बारेकाे छलफल पछि एमसीसीकाे दस्तावेजसँग राखेर सरकारले पेश गर्ने र त्यसलाई अनुमाेदन गरिने पौडेलको भनाइ छ ।
पौडेलले सत्ता गठबन्धनको सबै दलमा एमसीसीमा शंका रहेका विषयमा टिप्पणी गर्दै एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय भएको बताए । प्रतिनिधिसभाको पहिलो बैठकले एमसीसीमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ र विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल हुनेछ । र, त्यसपछि दोस्रो बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरियोस् भन्ने प्रस्ताव सरकारले पेश गर्नेछ र प्रस्ताव बैठकमा उपस्थित बहुमतले पारित गरेमा एमसीसी पारित हुनेछ ।
