एमसीसी अनुमोदन गर्ने सरकारको तयारी, होला त अनुमोदन ?

अन्ततः सत्ता गठबन्धन दलहरूमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा सहमति भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने सन्दर्भमा सहमति भएको हो । आज संसदमा दुई बैठक राखेर एमसीसी अनुमोदन गर्ने सरकारको तयारी छ ।

प्रतिनिधिसभाको पहिलो बैठकले ‘एमसीसीमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश हुनेछ र विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल हुनेछ । र, त्यसपछि दोस्रो बैठकमा व्याख्यात्मक टिप्पणीसहित ‘एमसीसी पारित गरियोस्’ भन्ने प्रस्ताव सरकारले पेश गर्नेछ ।



यसअघि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा राजनीतिक दलहरू र नागरिक समाजसमेतमा मतभेद देखिएको थियो । तर, अन्तिम समयमा एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धन नै राजी भएका हुन् । एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले पनि सकारात्मक सङ्केत दिएको छ । यसअघि सत्ता गठबन्धनले नै एमसीसी कम्प्याक्टमा रहेका शर्तहरू संशोधन गरेपछि मात्र संसदबाट अनुमोदन गर्नु पर्ने प्रस्ताव गरेका थिए ।

व्याख्यात्मक टिप्पणी भनेको के हो ?
एसमीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानअनुसार चल्ने र नेपालको आर्थिक विकास सहायता रहेको स्पष्ट पार्ने कार्यलाई नै व्याख्यात्मक टिप्प्णी भनिएको छ ।

एमसीसी सम्झौतामा के छ ?
एमसीसीअन्तर्गत अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि घोषणा गरेको ५० करोड अमेरिकी डलर (५७ अर्ब नेपाली रुपैयाँ) अनुदान परिचालन गरिने सम्झौता छ । त्यसैले अमेरिकाले एमसीसी चाँडै संसद्बाट अनुमोदन होस् भन्ने चाहेको छ र दवाव पनि दिइरहेको छ ।

२०७४ भदौ २९ गते सरकार र एमसीसीबीच अनुदान सम्झौता (एमसीसी कम्प्याक्ट) मा हस्ताक्षर भएको थियो । सम्झौतामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तत्कालीन कार्यवाहक सीईओ जोनाथन नाशले हस्ताक्षर गरेका थिए । सम्झौतापत्रको ड्राफ्ट त एमसीसीले पहिले नै पठाएको थियो तर तत्कालीन समयमा यस विषयमा नेपालमा खासै छलफल नै भएन । तर जब यो आयोजना कार्यान्वयनका लागि नेपालको कानुनभन्दा माथि हुनुपर्ने र ससंदबाट पास हुनुपर्ने कुरा आयो, त्यसपछि मात्रै यसले थप चर्चा पायो र विवादित पनि बन्यो ।

एमसीसीविरुद्ध विरोध जारी
एमसीसीले देशको राष्ट्रियता धरापमा पार्ने भन्दै नयाँ बानेश्वर क्षेत्रमा सधैजसो विरोध भैरहेको छ । सत्ता गठबन्धनभित्रकै भातृ संगठनले संयुक्त रूपमा एमसीसीविरुद्ध प्रदर्शन गर्दै आएका छन् । राजधानीमा मात्र नभएर राजधानीबाहिर पनि यसविरुद्ध प्रदर्शन भैरहेको सूचना प्राप्त भएको छ । अधिकांश जनसाधारणहरू र नेपालीको हितमा नभएको भन्दै आन्दोलित हुँदै आएका छन् ।

सम्बन्धित समाचार