नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी एक शङ्कास्पद वस्तु फेला परेको छ । प्रेसरकुकर बम जस्तो देखिने सो वस्तु सडकमा देखिएपछि अहिले त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । उक्त शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको छ ।
अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन(एमसीसी) संसदबाट अनुमोदन भएपछि त्यसको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दको क्रममा जनजीवन प्रभावित पार्न सो वस्तु राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
त्यसअघि काभ्रेपलान्चोकको बनेपा बजार नजिकै पुलबजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै ९.३० बजेबाट यातायात चलेको प्रहरीले जनाएको छ ।
