नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ फागुन ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि सोमबार रातिबाट लगाइएको कर्फ्यू (निषेधाज्ञा)का कारण वीरेन्द्रनगर सुनसान बनेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबार राति आठ बजेदेखि मंगलबार साँझ साढे सात बजेसम्म कर्फ्यू आदेश जारी गर्ने निर्णय गरेको हो ।
प्रशासनले कर्फ्यु तोड्ने व्यक्तिलाई आवश्यकताअनुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएपछि वीरेन्द्रनगर बिहानैदेखि सुनसान छ । सोमबार साँझ बन्दकर्ताले सुर्खेतका पार्टी कार्यालय, प्रहरी बिट तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणबाहिर गएको थियो । समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पूर्वमा धुलियाबिट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा वीरेन्द्रनगर वडा नं ७ र दक्षिणमा लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेविहार, देउती बज्यै, सुब्बाकुनासम्मको क्षेत्रमा आवतजावत गर्न, भेला जुलुस गर्न र अन्य कुनै गतिविधि गर्न नपाउने गरी कर्फ्यू जारी गरेका हुन् ।
कर्फ्यू जारीपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ । एमसिसीविरुद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताले सोमबार साँझ नेकपा (एमाले), नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र)का कार्यालय तोडफोडका साथै मङ्गलगढी चोक र एरिचोकमा रहेका प्रहरी बिटमा आगजनी गरेका थिए । सोमबार दिनभर वीरेन्द्रनगरको अवस्था तनावग्रस्त बनेको थियो । एमसीसी सम्झौता संसद्बाट पारित गरेको विरोधमा आह्वान गरिएको नेपाल बन्दको क्रममा आयोजित प्रदर्शन प्रहरीसँगको झडपमा परिणत भएको थियो ।
