प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनवार्ता भएको छ । मंगलबार राति उनीहरुबीच भएको फोनवार्तामा नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । फोनवार्तामा रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा पनि कुराकानी भएको थियो ।

‘नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । हामी हाम्रो प्रगतिका लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौँ । हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल गर्यौं’ प्रधानमन्त्री देउवाले फोनवार्ताबारे ट्विट मार्फत जानकारी दिँदै उल्लेख गरेका छन् ।



प्रधानमन्त्री देउवासँग कुराकानी भए लगत्तै ट्विट गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनीले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा कुराकानी भएको उल्लेख गरेका छन् । विदेशमन्त्री एन्टोनीले ट्विटरमा लेखेका छन्, ‘रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ ।’

सो अवसरमा विदेशमन्त्री ब्लिन्केनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) मा अघि बढ्न नेपालले गरेको निर्णयले विद्युतीय प्रसारण लाइन र सडक परियोजनासँगै रोजगारी सिर्जना, पूर्वाधार निर्माण तथा नेपाली नागरिकको जीवनस्तर उन्नतिमा भूमिका खेल्ने बताएका थिए ।

फोनवार्तामा आर्थिक विकास र क्षेत्रीय चुनौतीको विषयमा समेत छलफल भएको छ । एन्टोनीले आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्ने ट्विटरमा उल्लेख गरेका छन् । ट्विटरमा थप भनिएको छ, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्नेछौँ।’

देउवाको ट्विट

देउवाको ट्विट

अमेरिकी विदेशमन्त्रीको ट्विट

अमेरिकी विदेशमन्त्रीको ट्विट

 

 

सम्बन्धित समाचार