नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले शपथ ग्रहण गरेका छन् । आज(शनिबार) बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले शपथ ग्रहण गरेका हुन् ।
गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भएका थिए । छ वर्षे कार्यकालका लागि निर्वाचित १९ जना सदस्यहरुलाई आज राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदस्यहरुलाई शपथ ग्रहण गराएर ब्याच वितरण गरे । यद्यपि एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने र राष्ट्रपतिसमक्ष नै शपथ लिने प्रावधान छ । निर्वाचन आयोगका अनुसार माघ १२ गते सम्पन्न मतदानमा नेपाली काँग्रेसका छ, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका पाँच–पाँच तथा जनता समाजवादी पार्टी नेपाल, नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाका एक–एक सदस्य निर्वाचित भएका थिए ।
निवार्चित हुनेमा काँग्रेसबाट नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेत, माओवादीबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर कार्की, एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदनकुमारी शाह, जसपा नेपालका मोहम्मद खालिद, नेकपा (एमाले)का सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा रहेका छन् । गोला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि हिजो (शुक्रबार)देखि समाप्त भएको छ ।
