एमसीसी पास भएपछि किन बढ्यो विप्लवको सक्रियता ?

अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्दै आएको छ । पछिल्लो समयमा विप्लवमा देखिएको विशेष सक्रियता र राजनीतिक भेटघाटलाई नेपालको राजनीतिमा नयाँ मोर्चावन्दी हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

एमसीसीविरुद्ध प्रदर्शन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले एमसीसीविरुद्ध विभिन्न विरोधका कार्यक्रमहरू गर्दै आएका छन् । विप्लवको नेतृत्व रहेको उक्त समूहले नेपाल बन्ददेखि लिएर विभिन्न विरोधका कार्यक्रमहरू गर्दै आएको छ । विप्लव नेतृत्वको नेकपा एमसीसीविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको ४ दलहरू र दुई मोर्चामध्येको एक सशक्त दल हो ।



क–कसलाई भेटे विप्लवले ?
व्याख्यामातक घोषणासहित एमसीसी पास भएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सक्रियता बढेको छ । उनले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । यसै क्रममा उनले नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छे तथा नेकपा एमालेका नेता भीम रावललाई भेट गरेका छन् ।

नारायणकाजीसँगको भेटमा के भयो कुराकानी ?
विप्लवले नारायणकाजी श्रेष्ठलाई ललितपुरको हरिसिद्धिस्थित उनकै निवास पुगेर भेटेका हुन् । उक्त भेटमा एमसीसी विरोधी शक्तिहरूबीच सहकार्य र एकताबारे छलफल गरेको स्रोतले बताएको छ । भेटमा विप्लवले श्रेष्ठसँग एससीसीविरोधी क्रान्तिकारी शक्ति एवं कम्युनिष्ट पार्टीहरुबीच ध्रुवीकरण गरेर अघि जाने विषयमा कुराकानी भएको जनाइएको छ । ‘एमसीसीविरोधी कम्युनिष्ट एवं क्रान्तिकारी शक्तिहरूबीच स्पष्ट ध्रुवीकरण गरेर सहकार्य एवं कार्यगत एकता गर्नेबारे दुई नेताबीच कुराकानी भएको हो तर समग्र पार्टी एकता नै गर्नेबारे कुराकानी भएको होइन’ नेकपाका केन्द्रीय सदस्य एवम् पार्टी केन्द्रीय कार्यालयका सचिव असल खड्काले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्णयविपरीत एमसीसी पास गरेको भन्दै नेता श्रेष्ठले यसप्रति विरोध जनाउँदै आएका छन् ।

झलनाथ खनालसँगको भेटमा के भयो कुराकानी ?
विप्लवले एमसीसीको विरोध गर्दै आएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पनि भेट गरेका छन् । उक्त भेटमा पनि एमसीसी विषयमा छलफल भएको थियो । भेटमा एमसीसीविरुद्ध कसरी अगाडि बढ्ने विषयमा कुराकानी भएको स्रोतले जनाएको थियो ।

बिजुक्छेसँगको भेट कस्तो रह्यो ?
नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि भेटवार्ता गरेका छन् । विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर बिजुक्छेलाई भेट्न भक्तपुर पुगेका थिए । उक्त भेटवार्तामा नेमकिपाका सांसद प्रेम सुवालसमेत सहभागी थिए । बिजुक्छे र विप्लवबीच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसीलगायतका विषयमा कुराकानी भएको विप्लव सचिवालयले जानकारी दिएको छ ।

रावलसँगको कस्तो रह्यो ?
‘विप्लव’ र नेकपा एमालेका नेता भीम रावलबीच पनि भेटवार्ता भएको छ । गत विहीबार बिहान रावलको निजी निवास टोखामा विप्लव र रावलबीच भेटवार्ता भएको हो । विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित रावल निवास पुगेका थिए । भेटवार्तामा एमसीसी र राष्ट्रिय स्वाधीनताको रक्षाका पक्षमा कुरा भएको बताइएको छ । एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाका लागि एकताबद्ध भएर सङ्घर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ । भेटवार्तापछि ट्विट गर्दै नेता रावलले देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने बताएका थिए ।

आमसभामा के भने विप्लवले ?
गत शुक्रबार एमसीसीविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित ६ दलसहित खुल्लामञ्चमा एमसीसीविरुद्ध आमसभासमेत गरेका थिए । उक्त सभामा विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनको रूपमा दर्ज भएको बताएका थिए । त्यस्तै उनले अमेरिकाले नेपालमा रहेको कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलनलाई दबाउन लागिपरेको भन्दै उनले एमसीसी भनेको २१औँ शताब्दीको उपनिवेश रहेको दाबी गरे । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई सिध्याउनको लागि अमेरिका लागिपरेको समेत आरोप लगाए ।

केही व्यक्तिको मन्त्री र सांसदको पद जोगाउन नेकाप माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितविपरीत रहेको एमसीसी अनुमोदनमा सहमति जनाएको विप्लवको भनाइ छ । त्यस्तै उनले प्रचण्ड, बाबुराम भट्टराईलगायतको नाम लिएर परिवर्तनको लागि ती नेताले जनतालाई धोका दिएको आरोप पनि लगाए ।

एमसीसी संसदबाट पारित भएपछि विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाएका हुन् । विप्लवको यस्तो सक्रियताले नेपाली राजनीतिमा कुनै न कुनै परिवर्तन हुने वा दलहरूबीचको समीकरणमा हेरफेर हुन सक्ने अनुमान लगाइँदै छ । विप्लवले विशेषगरी एमसीसीविरोधी नेताहरूसँग निकटता बढाउँदै एमसीसीविरोधी शक्तिलाई ध्रुवीकृत गरेर नयाँ आन्दोलनको प्रयास गरेको देखिन्छ ।

सम्बन्धित समाचार