नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ । आज (सोमबार)बिहान ११ बजे केन्द्रीय कमिटी बैठक अनुपम फुडल्याण्डमा बस्नेछ । गत शुक्रबारबाट सुरु भएको माओवादी केन्द्रीय कमिटी बैठक आइतबार बस्ने भनिएको बैठक स्थगित भएको थियो ।
बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने तय भएको बैठक सारेर दिउँसो २ बजे अनुपम पार्टी प्यालेस बत्तीसपुतलीमा बस्ने तयारी गरिएको थियो । तर, बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएपनि बैठक स्थगित गरिएको थियो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
शुक्रवारको केन्द्रिय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति र एमसीसीबारे र नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौताका विषयमा पार्टीले खेलेको भूमिकाका विषयमा धारणा राखेका थिए । गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

