काठमाडौंमा बेहोस अवस्थामा भेटिए एकै परिवारका पाँच जना, एकको मृत्यु

काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति ९:३० बजे बेहोस अवस्थामा भेटिएका हुन् ।

तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा गए राति १०.३० बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । यस्तै ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान बोल्न नसक्ने अवस्थामा फेला परेको प्रवक्ता मैनालीले बताए। उनीहरुले विषादी औषधि सेवन गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।



उनीहरु चारै जनाको मनमोहन अस्पताल स्वयम्भूमा भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–१५ डल्लु घर भएका उनीहरु नागार्जुनमा भाडामा बस्दै आएका थिए । यसैबीच डेरामा विषका बट्टाहरू र पानीको बोतलमा घोलेर बाँकी रहेको विष फेला परेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनीहरुले विष पिउनुअघि लेखेको नोट भेटिएको छ । नोटमा उनीहरुले लेखेका छन्, ‘हामी संयुक्त रुपमा बिदा हुँदैछौँ ।’ सो परिवारले विषमा सिटामोल धुलो बनाएर जुसजस्तो घोल बनाएको भेटिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार