माधव नेपालले लगाए ओलीलाई यस्तो आरोप

नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले अहिले सत्ता गठबन्धन तोड्ने षड्यन्त्र भैरहेको बताएका छन् । आज (बुधबार) राजधानीमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेपालले यस्तो बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलहरुबीचको विश्वास तोड्नलाई षड्यन्त्र भएको बताए । उनले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने बेलामै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन फुटाउन खोजेको आरोप लगाए । तर, एमसीसी व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन गरेको भन्दै ओलीको प्रयास असफल रहेको बताए । ‘अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन तोड्ने अझै प्रयास गरिरहेक छन्’ उनले भने, ‘गठबन्धन दलहरूबीचको गठबन्धन तोड्नका लागि भयकंर षड्यन्त्र भएको थियो । ती भयंकर षड्यन्त्रहरूलाई हामीले विफल पार्‍यौं ।’



अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीसँगको लडाईं आफूहरुले जित्दै आएको भन्दै राष्ट्रियसभाको निर्वाचनमा हामीले ओलीसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेको बताए । ‘हामीले दुई पटक निर्वाचनमा भाग लिएका छौं, राष्ट्रिय सभाको निर्वाचनमा हामीले केपी ओलीसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेका थियौं । एक्लै चुनाव जित्ने स्थिति नभएपछि हामीले गठबन्धन गरेर चुनाव जित्यौं,’ उनले भने ।

त्यस्तै नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरे । उनले एमाले अध्यक्ष ओलीलाई अझै पनि आफु निकै शक्तिशाली रहेको भ्रम परेको भन्दै त्यो भ्रम आगामी निर्वाचनमा तोडिने बताए । उनले गठबन्धन दलका घटकसँग निर्वाचनमा पनि मिलेर जान सकिने बताए । नेपालले अहिले गठबन्धन दलहरु बीचमा विश्वास कायम रहेको बताउँदै उनले भने, ‘आफ्नो शक्तिका बारेमा जानकारी लिएर सही मूल्याङ्कन र विश्लेषण हुन पर्‍यो, एमसीसीका नाममा गठबन्धन तोड्ने अनेकौँ प्रयास भए पनि गठबन्धनबीचको सहमति कायम रहने छ ।’

यस्तै अध्यक्ष नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । एमसीसीविरुद्ध अभिव्यक्त विचार फिर्ता लिन नेताहरूलाई निर्देशन दिँदै उनले भने, ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । आफ्नो गल्ती स्वीकार्नुस् । अन्यथा स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउँछ ।’ बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता राजेन्द्र पाण्डे, मेटमणि चौधरी, गङ्गालाल तुलाधरसहित केन्द्रीय कमिटीका ३३५ सदस्य सहभागी रहेका छन् ।

 

सम्बन्धित समाचार