साझा चुनावी घोषणापत्र तयार गरेर निर्वाचनमा जान देउवालाई प्रचण्ड र माधव नेपालको दवाव, काँग्रेसमा बढ्यो असन्तुष्टि

निर्वाचनलाई लिएर काँग्रेसको रणनीति– कम्युनिष्टलाई मिल्न नदिने, आफू पनि सहकार्य नगर्ने

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । यता सत्ता गठबन्धनमा भने चुनावी सहकार्यलाई लिएर सहमति जुट्न सकेको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनमा स्थानीय निर्वाचनमा सहकार्य गर्ने सहमति भैसकेको दाबी गर्दै आए पनि नेपाली काँग्रेसको व्यवहारले आशंका पैदा भइरहेको छ । काँग्रेसका नेताहरूबाट फरक फरक मत सार्वजनिक हुँदा चुनावी सहकार्यलाई लिएर माओवादी र समाजवादीका कार्यकर्ताहरू अलमलमा परेका छन् ।

काँग्रेसको दोधारे नीतिले गर्दा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री देउवासँग असन्तुष्ट रहँदै आएका छन् । प्रचण्डको आग्रहमा गत सोमबार प्रधानमन्त्री देउवाले गठबन्धनका बारेमा कुनै अलोकप्रिय भाषण नगर्न देउवाले काँग्रेस नेताहरूलाई आग्रह गरेका थिए । बुधबार मात्र प्रचण्डले पनि काँग्रेसलाई आफूहरूले बोकेर सरकारमा पुर्याएकोले आगामी चुनावमा गठबन्धन नगर्ने भनेर केही नेताले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । काँग्रेसलाई आफूहरूले सत्ताको सिंहासनमा पुर्याएको भन्दै गठबन्धनविरूद्धका अभिव्यक्ति सैह्य नहुने प्रचण्डको भनाइ थियो ।



तीन दल तीनतिर
कम्युनिष्टहरू फुटेकोले निकट रहेको स्थानीय निर्वाचनलाई लिएर काँग्रेस उत्साही देखिएको छ । निर्वाचनमा सहकार्य भए पनि नभए पनि आफू नै पहिलो दल बन्नेमा ऊ ढुक्क देखिन्छ । यता माओवादी केन्द्र र एकीकृत समाजवादी भने निर्वाचनमा पनि गठबन्धन गरेर आफ्नो शक्ति सके बढाउने, नसके पनि घट्न नदिने रणनीतिमा छन् । साथै निर्वाचनमा एमालेलाई घेराबन्दी गरेर पत्तासाफ पार्ने उनीहरूको लक्ष्य रहेको छ । यता नेकपा एमाले भने काँग्रेसलाई उचालेर चुनावी सहकार्य हुन नदिने र आफूबाट फुटेर गएका माओवादी र एकीकृत समाजवादीलाई जसरी पनि निर्वाचनमा हराउने रणनीतिका साथ निर्वाचनमा होमिएको छ ।

कम्युनिष्टलाई मिल्न नदिने काँग्रेसको रणनीति
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने तयारीमा रहेको नेपाली काँग्रेसले त्यसपछि मात्र चुनावी सहकार्यबारे निर्णय लिने बताएको छ । माओवादी र एकीकृत समाजवादीलाई सहकार्यको आशा देखाएर एमालेसँग मिल्न नदिने र अन्तिममा खास खास स्थानमा मात्र सहकार्य गरेर अन्यत्र एक्लै निर्वाचनमा होमिने उसको रणनीति रहेको देखिन्छ ।

अहिले नै निर्वाचनमा सहकार्य नगर्ने निर्णय गर्दा स्थानीय स्तरमा कम्युनिष्टहरू मिल्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै काँग्रेसले निर्वाचनको मुखमा मात्र सहकार्यबारे निर्णय लिने तयारी गरेको हो । साथै संस्थापन इतरको समूहले गठबन्धनसँग मिलेर निर्वाचनमा जाँदा काँग्रेसलाई घाटा लाग्ने हिसाव निकालिरहेको छ । काँग्रेसको यही दोधारे नीतिले गर्दा प्रचण्ड र माधव नेपाल आक्रमक रूपमा प्रस्तुत हुन थालेका छन् । उनीहरूले निर्वाचनमा सहकार्य गर्नेबारे तत्काल निर्णय लिनुपर्ने र साझा चुनावी घोषणापत्र तयार गरेर निर्वाचनमा होमिनुपर्ने धारणाका साथ देउवालाई दवाव दिने तयारीमा छन् ।

 

सम्बन्धित समाचार