नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा फागुन २१ र २२ गते ११ औं अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेला २०७८ सम्पन्न भएको छ । कोभिडको कारणले प्रत्यक्ष सहभागिता सम्भव नभएपछि यसपटक भर्चुअल माध्यममार्फत आयोजना गरिएको थियो । मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरू, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिंगापुर, स्लोभाकिया, साउथ अफ्रिका, स्पेन, ताइवान, तान्जेनिया, जिम्बाबे र नेपाल गरी विश्वका ३० भन्दा बढी देशहरूका ४२ विभिन्न साँस्कृतिक समूहको सहभागिता रहेको आयोजक संस्थाका सस्थापक अध्यक्ष आरसी कोइरालाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
प्रथम अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेलादेखि हालसम्म आइपुग्दा करिब ७५ भन्दा बढी देशका ६५०० भन्दा बढी कलाकारहरूले आ–आफनो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोक सांँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका र हालसम्म आइपुग्दा ग्रुपले विश्वको १०० भन्दा बढी अन्तर्राष्ट्रिय लोक साँस्कृतिक कार्यक्रममार्फत नेपाली लोक संस्कृतिको पहिचान र प्रबद्र्धन गराउदै आएको पनि अध्यक्ष कोइरालाले उल्लेख गरेका छन् ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गर्नुका साथै अन्तर्राष्ट्रिय बालबालिका लोक साँस्कृतिक मेला २०७५ आयोजना गरेको थियो । हरेक दुई दुई वर्षमा आयोजना हुने मेलालाई निरन्तरता दिँदै यस संस्थाले एघारौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०७८ भब्य रूपमा सम्पन्न गरेको हो । आयोजक संस्थाले एघारौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०७८ भब्य रूपमा सम्पन्न गर्न प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्ने कलाकार तथा अफिसियलहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।
भिडियो –