नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसीसी सम्झौताले नेपालको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । उनले एमसीसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले यसले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् ।
नेपाली कांग्रेस पर्साले आज (बिहीबार) वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गरे ।
‘एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’ त्यस्तै देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताए ।

