नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।

प्रधानमन्त्री देउवाले सरकारमा सत्ता गठबन्धनसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने जानकारी दिएका छन् । उनले गठबन्धनसँग मिली निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भावना प्रबल भएकाले गठबन्धनमा चुनाव लड्ने विषयमा दलहरूसँग छलफल चलिरहेको बताएका हुन् ।
नेपाली काँग्रेस पर्साले आज (बिहीबार) वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विसं २०७४ को चुनावमा काँग्रेस कमजोर भएर नभई सबै कम्युनिष्टहरू एक भएकाले काँग्रेसको हार भएको स्पष्ट गर्दै गठबन्धनसहित स्थानीय तहदेखि संघीय चुनावसम्म जाने विषयमा छलफल भइरहेको समेत बताए ।
‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । सरकारका लागि गठबन्धन आवश्यक छ,’ उनले भने, ‘हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? तपाईहरुलाई थाहै छ ।’
यसअघि मंगलवार काँग्रेसको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको चित्त दुख्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका थिए । देउवाले गठबन्धनकै नेतृत्वमा काँग्रेसको सरकार र आफू प्रधानमन्त्री भएको स्मरण गर्दै उनले गठबन्धनलाई एकसाथ लैजानु प्रजातन्त्रका लागि, नेपालका लागि, आफ्नो पार्टी स्वयंका लागि पनि आवश्यक रहेको बताए ।
विभिन्न दल परित्याग गरी काँग्रेस पार्टीमा प्रवेश गरेका पर्साका पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार (मन्टु)लगायतका नेता–कार्यकर्तालाई सभापति देउवाले काँग्रेस पार्टीमा स्वागत गरेका छन् । काँग्रेस पर्साका नवनिर्वाचित अध्यक्ष जनारधनसिंह क्षेत्रीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, संविधानसभा सदस्य अनिल रुङ्गटा, प्रतिनिधिसभाका पूर्वसदस्य सुरेन्द्र चौधरीलगायतले आउने तीनै तहको निर्वाचनमा काँग्रेसले बहुमत हासिल गर्ने दाबी गरेका थिए ।

