नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।

नेकपा एकीकृत समाजवादी को बुधबारदेखि सुरु भएको तेस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । आज (बिहीबार) बैठकको समापन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष माधव कुमार नेपालले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको काममा लाग्न आफ्ना नेताहरूलाईनिर्देशन दिएका छन् ।
अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नौ वटा समूहमा छलफल भएको थियो । बैठकमा टोली नेताले सुझाव एवम् निष्कर्ष प्रस्तुत गरेपछि उनले जवाफ दिएका थिए । यससँगै पार्टीे प्रदेश एवम् जिल्ला कमिटीलाई जनतासँग जोडिन र थप सक्रिय हुन उनले आह्वान गरे ।गण्डकी प्रदेशबाट रेखा थापा बस्याल, सुदूरपश्चिमबाट शेरबहादुर कुँवर, मधेस प्रदेशबाट सत्यनारायण यादव, प्रदेश १ बाट धर्मराज पौडेल, बागमती प्रदेशबाट विदुर सापकोटा, कर्णाली प्रदेशबाट अमर थापा, लुम्बिनी प्रदेशबाट राजु गुरुङ, उपत्यका तथा सम्पर्क विशेष प्रदेशबाट केदार सञ्जेल र मोर्चा तथा विभागबाट प्रमेख पोखरेलले प्रतिवेदनमाथि सुझाव एवम् निष्कर्श राखेका थिए ।
त्यस्तै बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्नेगरी कार्ययोजना पारित गरेको छ । बैठकपछि महासचिव भुसालले विज्ञप्तिमार्फत् बैठकका निर्णय सार्वजनिक गरेका थिए । यसैगरी नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले आगामी स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाहेकका दलहरुको गठबन्धन बन्न सक्ने बताएका छन् ।
विज्ञप्ति

