नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ फागुन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अन्तर्गत हुने पूर्वधार निर्माणको ग्लोबल टेन्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आह्वान गरेका छन् । आज (शुक्रबार) नेपाल निर्माण व्यवसायी सङ्घको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने भएकोले यसमा भाग लिन नेपालका निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् । उनले ग्लोबल टेन्डर भएकाले नेपालका निर्माण व्यवसायीले पनि सहभागिता जनाउन सक्ने र नेपाली निर्माण व्यवसायीले एमसीसी अन्तर्गतका आयोजना प्राप्त गर्न सके आफू पनि खुसी हुने बताए ।
‘एमसीसीमा ग्लोबल बिडिङ हुन्छ । नेपालको ठेकेदारले पनि प्रतिस्पर्धा गर्नुहाेस् । सफल हुनुस् । म सबैभन्दा बढी खुसी हुनेछु ।,’ उनले भने , ‘अन्तर्राष्ट्रिय बिडिङ हुन्छ । यसमा संसारका जो पनि आउन सक्छन् । चीन र भारतका आउन सक्छन् । नेपालका तपाईहरु पनि सहभागी हुनुहाेस् ।’ त्यस्तै उनले देउवाले हाल कार्यान्वयनमा रहेको सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष र व्यवसायीहरुको माग तथा सुझाव बमोजिम परिमार्जन गर्न सरकार लचिलो रहेको बताए ।

