नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।

व्याख्यात्मक घोषणाबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभाबाट पारित भएसँगै अहिले राजनीतिक दलहरूले चुनावी अभियानलाई तीव्रता दिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरू आ–आफ्नो चुनावी अभियानलाई गति दिने तयारीमा जुटेका छन् । यसैबीच आगामी चुनावमा सत्ता गठबन्धनमा भने चुनावी अभियानमा सहकार्य गर्ने विषयमा अझै सहमति जुट्न सकेको छैन । माओवादी केन्द्र र एकीकृत समाजवादी भने निर्वाचनमा पनि गठबन्धन गरेर आफ्नो शक्ति सके बढाउने, नसके पनि घट्न नदिने रणनीतिमा छन् ।
चुनावी अभियानलाई तीव्रता दिँदै दलहरू
नेपाली काँग्रेसले आइतबारदेखि स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गरेको छ । ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ नारासहित प्रारम्भ हुने अभियान ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ थालनी गर्ने काँग्रेसको तयारी छ । त्यस्तै नेकपा एमाले पनि चुनावी अभियानलाई तीव्रता दिने तयारीमा रहेको छ । यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी पनि चुनावी तयारीलाई तीव्रता दिने योजनामा रहेका छन् । राप्रपा र राप्रपा नेपाल पनि चुनावी अभियान सुरू गर्ने तयारीमा रहेका छन् ।
के भन्छन् काँग्रेसी नेताहरू ?
नेपाली काँग्रेसका नेताहरू चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे फरक–फरक मत राख्दै आएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलहरूसँग चुनावी तालमेल हुने सङ्केत गरे पनि नेता शेखर कोइराला भने सरकार सञ्चालनमा गठबन्धन गरे पनि चुनावमा गठबन्धन गर्नु उपयुक्त नहुने भन्दै आएका छन् ।
काँग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष गठबन्धन कायम गरेर अघि बढ्नु पर्ने पक्षमा देखिएको छ । त्यसैले देउवाले गत बुधबार बसेको बैठकमा समेत गठबन्धनका दलहरूको चित्त दुख्ने गरी अभिव्यक्ति नदिन निर्देशन नै दिएका थिए । महामन्त्री गगन थापाले भने चुनावमा गठबन्धन गर्न नहुने भन्दै आएका छन् । काँग्रेसका उपसभापति धनराज गुरूङले गठबन्धन गर्ने विषयलाई हात्तीको कानमा चमेराको बास भन्दै व्यङ्ग्य गरेका थिए ।
माओवादी र एकीकृत समाजवादीलाई सहकार्यको आशा देखाएर एमालेसँग मिल्न नदिने र अन्तिममा खास खास स्थानमा मात्र सहकार्य गरेर अन्यत्र एक्लै निर्वाचनमा होमिने काँग्रेसको रणनीति देखिन्छ । अहिले नै निर्वाचनमा सहकार्य नगर्ने निर्णय गर्दा स्थानीय स्तरमा कम्युनिष्टहरू मिल्न सक्ने सम्भावनालाई ध्यानमा राखेर काँग्रेसले निर्वाचनको मुखमा मात्र सहकार्यबारे निर्णय लिने तयारी गरेको हो ।
के भन्छन् प्रचण्ड ?
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस नेताहरूको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आफूहरूले काँग्रेसलाई सत्ताको सिंहासनमा पुर्याएको भन्दै प्रचण्डले गठबन्धनविरूद्धका अभिव्यक्तिले र माओवादी केन्द्र तथा नेकपा एसको अपमान गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले काँग्रेसका नेताहरूले आफूहरूलाई हात्तीको कानमा बसेका चमेरा भन्ने तथा गठबन्धन गरेर चुनाव जिताइदिने जिम्मा नलिने भनी दिएको अपमानजनक अभिव्यक्ति सह्य नहुने चेतावनी दिए । काँग्रेसका केही नेताहरूले गठबन्धनको विषयमा गलत अभिव्यक्ति दिए पनि चुनवासम्मै गठबन्धन कायम रहने भन्दै प्रचण्डले आफ्ना कार्यकर्तालाई विश्वास दिलाइरहेका छन् ।
के भन्छन् माधव नेपाल ?
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा स्थानीय निर्वाचनमा सहकार्य गर्ने सहमति भइसकेको दाबी गर्दै आएका छन् । उनले पार्टी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय नेताहरूलाई स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति भइसकेको बताएका थिए । अध्यक्ष नेपालले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी जारी रहेको भन्दै यस विषयमा सहमति रहेको बताए । उनले भने ‘निर्वाचनमा पनि हामी मिलेर जान्छौं । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने हो । त्यसका निम्ति हामीसँग भएको शक्तिको हेक्का पनि हामीलाई हुनुपर्यो । ठीक मूल्याङ्कन गर्नु पर्यो । अरू पार्टीहरूको शक्ति कति छ ? त्यसको पनि जानकारी हुनुपर्यो ।’
चुनावले सत्ता गठबन्धनको गाँठो फुस्कने डर
सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेसले चुनावमा चुनावी सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा अझै ठोस निर्णय गर्न सकेको छैन । काँग्रेसभित्रकै नेताहरू चुनावमा सहकार्य नगर्ने विषयमा विभिन्न अभिव्यक्तिहरू दिँदै आएका छन् । केही नेताहरू चुनावमा सत्ता गठबन्धनसँग मिलेर चुनावमा जानु पर्ने भन्दै आएका छन् भने केही नेताहरू चुनवमा सहकार्य गर्न नहुने पक्षमा रहेका छन् । यता नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भने चुनावी अभियानभन्दा पनि वर्तमान गठबन्धनलाई तीनै तहको चुनावसम्म लैजाने भन्दै गठबन्धनमा जोड दिँदै आएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल चुनावमा गठबन्धन हुनुपर्ने बताउँदै आएका छन् । दुई नेताले गठबन्धनमा स्थानीय निर्वाचनमा सहकार्य गर्ने सहमति भैसकेको दाबी गर्दै आए पनि नेपाली काँग्रेसले भने यस विषयमा अझै निर्णय गर्न सकेको छैन । चुनावमा सहकार्य गर्ने विषयमा काँग्रेसको निर्णय नआएपछि पछिल्लो समय प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री देउवासँग असन्तुष्ट रहँदै आएका छन् । कांग्रेसका नेताहरूबीच गठबन्धनका बारेमा फरक फरक अभिव्यक्ति आइरहँदा चुनावकै कारण सत्ता गठबन्धनको गाँठो खुस्कने त होइन भन्ने आशंका उब्जिएको छ ।

