
मकवानपुरको मनहरीमा यात्रुबस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । आज (शुक्रबार) हेटौँडाबाट चितवनतर्फ गइरहेको ना४ख ४४५४ नम्बरको बस बिहान ८ः३० बजे मनहरी-६ को कुलचोकमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको भएको मनहरी स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र घाइते भएकाहरूलाई चितवन अस्पताल पठाइएको प्रहरी निरीक्षक थापाले बताए । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको र बसमा कति यात्रु थिए भन्ने एकिन भइनसकेको उनले बताए । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

