ओलीले काँग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ भनेपछि…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् । आज (शनिबार) पार्टीको सम्पर्क समन्वय कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने बताए । उनले आगामी निर्वाचनमा काँग्रेसलाई १३ सिटमा झार्नुपर्ने भन्दै चुनावी अभियानमा लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरूले काँग्रेसलाई भोट नहाल्ने बताए । ओलीले युवाहरू काँग्रेस, माओवादीबाट चेतिसकेको भन्दै उनीहरुले झन भोट नहाल्ने दावी गरे ।



अहिले पनि एमाले देशको पहिलो पार्टी भएको भन्दै ओलीले संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको बताए । ‘एमालेलाई चौथो पार्टी बनाउँछु भन्छ कोही । अहिले चौथो पार्टी हो एमाले संसद्मा ? संसद्मा एमालेसँग ९८ सिट छ । अरुको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिट लिएर हामीले टाँसिदिएको जुँगामा ताउ लाउँछ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–यो गठबन्धन केही होइन । बूढो कांग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइन ? कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस तपाईंहरु’ ओलीले भने ।

यसअघिको संसदीय निर्वाचनमा एकता गरेर नेकपा माओवादी केन्द्रलाई आफूहरूले बचाई दिएको भन्दै गठबन्धनमा रहेको एकीकृत समाजवादी निर्वाचन पछि समाप्त हुने प्रष्ट पारे । त्यस्तै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयी हासिल गर्ने बताए । उनले अहिलेको सरकार अदालतबाट बनेको भन्दै आगामी निर्वाचनबाट जनताको मतबाट हराउने बताए ।

सम्बन्धित समाचार