
स्थानीय निर्वाचन नजिकिएसँगै नेपालका राजनीतिक दलहरू चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । वैशाख ३० गते सरकारले स्थानीय निर्वाचनको मिति तोकिसकेको अवस्था छ । दलहरूबीच चुनावी सरगर्मी सुरु भइसकेको अवस्थामा पनि फेरि निर्वाचन नहुनसक्ने हल्ला चलेको भन्दै सत्तारूढ राजनीतिक दलका शीर्ष नेताहरूबीच विहीबार छलफल नै भयो । ‘हामी पूरै तागत लगाएर गइसक्यौं, तर यसैबीच निर्वाचन हुँदैन भन्ने हल्ला पनि किन चलिरहेको छ ?’ भनेर प्रचण्डले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । उक्त प्रश्नमा प्रधानमन्त्रीले यस्ता हल्ला चलिरहने भन्दै तोकिएकै मितिमा चुनाव हुने कुरामा ढुक्क हुन आग्रह गरेका थिए ।
निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सहकार्य गर्ने विषयमा चर्चा चलिरहँदा विहीबार बुटवलमा भएको एक कार्यक्रममा प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही नहुने भन्दै नेकपा एमालेसँग तालमेल गर्ने सम्भावनाको ढोका बन्द नभएको बताएका थिए । यता काँग्रेसले निर्वाचनमा सहकार्य गर्ने विषयमा ठोस निर्णय गर्न नसक्दा प्रचण्डले एमालेसँग चुनावी तालमेल हुन सक्ने सङ्केत गरेका हुन् ।
के भने प्रचण्डले ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग तालमेल गरेर स्थानीय तह निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताए । प्रचण्डले नेकपा एमालेसँग तत्काल तालमेल गर्ने सम्भावना नरहे पनि नेपाली काँग्रेसले माओवादीलाई लखेट्न खोजेमा एमालेसँग तालमेल गर्न ढोका बन्द नभएको बताएका थिए । एमालेसँग चुनावी तालमेल र सहकार्यबारे प्रचण्डले भने– ‘हामी गठबन्धनलाई चुनावसम्म लाने उद्देश्यमा छौं । यो नेपाली काँग्रेसको व्यवहारमा भर पर्ने कुरा हो । राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैन । मैले संसदबाट भनेको छु– राजनीतिमा असम्भव भनेको केही हुँदैन, राजनीति भनेको सम्भावनाको खेल हो ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले नेपाली काँग्रेस नेतृत्वको प्रधानमन्त्रीले गठबन्धन पाटीहरूबीच मिलेर चुनावमा जाने भन्नु भएकाले यसलाई गठबन्धनले सकारात्मक रूपमा लिएको बताए । उनले अगाडि भने– ‘कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ।’ त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्ने विषयमा गठबन्धन दलबीच सहमति भएको जानकारी पनि दिए । तालमेलबारे काँग्रेसका केही नेताहरूले दिएको टिप्पणीबारे भने उनले असन्तुष्टि व्यक्त गरे । उनले आफूहरूले काँग्रेसलाई सत्ताको सिंहासनमा पुर्याएको भन्दै गठबन्धनविरूद्धका अभिव्यक्तिले माओवादी केन्द्र तथा नेकपा एसको अपमान गरेको आरोप लगाए ।
तालमेलको विषयमा के भन्छ एमाले ?
यता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने स्थानीय तहको निर्वाचनमा तालमेल नगर्ने पक्षमा रहेको छ । नेकपा एमाले गठबन्धनसँग सामना गर्न तयार रहेको भन्दै निर्वाचनमा एक्लै लड्ने बताएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेले एक्लै ६० देखि ७० प्रतिशत सिट जित्ने बताएका छन् ।
चुनावमा गठबन्धनको सामना गर्न एमाले तयार रहेको भन्दै ओलीले चुनावमा पहिलो दल बन्ने दाबी गर्दै एमालेलाई कसैको वैशाखी र ढोडको लौरो टेक्नुपर्ने अवस्था नरहेको बताए । उनले एमालेलाई कसैको आवश्यकता नरहेको भन्दै एक्लै चुनाव लडेर ६० देखि ७० प्रतिशत सिट जित्ने बताए । उनले भने– ‘हामी एक्लै ६० देखि ७० सिट जित्न सक्छौं, यसको लागि हामीले अरूको साहारा लिनुपर्दैन ।’ त्यस्तै उनले एमालेसँग एक्लै चुनाव लड्न गठबन्धन तर्सेको आरोपसमेत लगाए ।
अहिले पनि एमाले देशको पहिलो पार्टी भएको भन्दै ओलीले संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको माहौल पनि एमालेकै पक्षमा रहेको बताए । यसअघिको संसदीय निर्वाचनमा एकता गरेर नेकपा माओवादी केन्द्रलाई आफूहरूले बचाइदिएको भन्दै उनले गठबन्धनमा रहेको एकीकृत समाजवादी निर्वाचनपछि समाप्त हुने धारणा राखे । त्यस्तै उनले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने बताए ।
के भन्छ एकीकृत समाजवादी ?
यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा स्थानीय निर्वाचनमा सहकार्य गर्ने सहमति भइसकेको दाबी गर्दै आएका छन् । विहीबार भएको एक कार्यक्रममा उनले ओलीतिर सङ्केत गर्दै खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने बताएका थिए ।
अध्यक्ष नेपालले निर्वाचनमा आफ्नो चुनाव चिन्ह कलमले ‘कमल’ गर्ने दाबी समेत गरेका छन् । उनले भने, ‘खिसिट्युरी गर्ने तत्वको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ । त्यस्ता घमण्डको पोको भएको रावणको नाश भएजस्तै, होलीका दहन भएजस्तै त्यस्ताहरूको दहन हुनेछ ।’ नेपालले राष्ट्रियसभाका दुईवटै चुनावमा कलले कमाल गरेको भन्दै त्यसरी नै वैशाख ३० गतेको स्थानीय चुनावमा पनि कमाल गर्ने बताए ।
प्रचण्ड र नेपाल काँग्रेससँग रूष्ट
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल चुनावमा गठबन्धन दलहरूबीच तालमेल हुनुपर्ने बताउँदै आएका छन् । दुई नेताले गठबन्धनमा स्थानीय निर्वाचनमा सहकार्य गर्ने सहमति भैसकेको दाबी गर्दै आएपनि नेपाली काँग्रेसले भने यस विषयमा अझै निर्णय गर्न सकेको छैन । चुनावमा सहकार्य गर्ने विषयमा काँग्रेसको निर्णय नआएपछि पछिल्लो समय प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री देउवासँग असन्तुष्ट रहँदै आएका छन् ।

