
पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । आज (मंगलबार) सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको हो ।
एमालेका अध्यक्ष केपी ओलीले काठमाडौंको थापाथलीस्थित कार्की ब्यांक्वेटमा एक कार्यक्रम आयोजना गरी प्रेमबहादुर सिंहलाई पार्टीमा स्वागत गरेका हुन् । अध्यक्ष सिंहसहित सिंगो पार्टी नै एमालेमा विलय भएको हो । सिंह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा खानेपानी मन्त्री बनेका थिए । उनीसँगै अभिनेत्री करिश्मा मानन्धर समेत एमाले प्रवेश गरेकी छिन् ।
डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट करिश्माले राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् । यसैगरी नेकपा माओवादी केन्द्र पर्साका नेता बाबुराम कौशिक पनि एमालेमा प्रवेश गरेका छन् ।

