
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । रूपन्देही, सैनामैना नगरपालिका-४ लखनपाडास्थित सैनामैना कृषि पशुपंक्षी तथा मत्स्यपालन फर्ममा काम गर्ने नवलपरासी सरावल गाउँपालिका-७ घर भएका ६७ वर्षीय राम आज्ञा केवट सोही फर्मको आफै सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै दाङ, शान्तिनगर गाउँपालिका-६ कोर्वाङघाटस्थित कुलोमा बबई गाउँपालिका-७ बस्ने ६५ वर्षीया गंगी कुवँर मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । मृतकको अनुहार र खुट्टामा घाउचोट देखिएकोले इ लाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले सोधपुछको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । यता ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-३ दोभान बजार नजिक तमोर नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै ओखलढुङ्गा, मानेभन्ज्याङ गाउँपालिका-७ हर्कपुरस्थित शिद्धिचरण राजमार्गको नालीमा सोही गाउँपालिका-४ बस्ने ६५ वर्षीय बुदे तामाङको लडेर मृत्यु भएको अवस्थामा मंगलबार शव फेला परेको छ । यता पर्सा, वीरगंज महानगरपालिका-१ सिरसिया खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिलाको शव मंगलबार फेला परेको छ ।
त्यसैगरी कास्की, पोखरा महानगरपालिका-१४ बिजयपुर खोला पुलमुनी हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

