प्रचण्डले आफू देशकै अध्यक्ष हुँ भनेपछि…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माओवादीको मात्रै नभई देशकै अध्यक्ष भएको बताएका छन् । आज (शुक्रबार) भरतपुरमा भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रचण्डले अहिले देशलाई संकट पर्दा आफूले समस्या समाधान गरेको भन्दै आफू माओवादीको अध्यक्ष मात्र नभई देशकै अध्यक्ष भएको दाबी गरे । प्रचण्डले भने, ‘म माओवादी केन्द्रको अध्यक्ष मात्रै जस्तो लाग्दैन आज भोलि, राष्ट्रको जिम्मेवारी मेरो टाउकोमा छ । देशमा कुनै अप्ठ्यारो पर्‍यो भने बचाउनै पर्ने नबचाई नहुने भारी बोकेर हिँडेजस्तो लाग्छ ।’



त्यस्तै उनले माओवादीले इतिहासमा गर्दै आएको काम र योगदानको मूल्याङ्कन गर्न सुझाव दिंदै स्वर्गीय गिरिजाप्रसाद कोइरालाले सहकार्य सहमति र एकताको मूल मन्त्र अनुसार भनेको कुरा काँग्रेसले बिर्सेको तर आफूले सोही बाटो अपनाउँदै आएको बताए । उनले आगामी निर्वाचनमा काँग्रेस सहकार्य नभए पनि आफूलाई कुनै आपत्ति नभएको बताए । उनले अधिकांश समय भरतपुरको विकासको बारेमा चर्चा गरेका थिए । विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकाला‍ई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उनले बताए ।

सम्बन्धित समाचार