ओलीले गरे चिनियाँ विदेशमन्त्रीलाई यस्तो आग्रह

बीआरआईसँग सम्बन्धित परियोजना अगाडि बढाउन आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बीआरआईसँग सम्बन्धित परियोजना अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेका छन् । आज (आइतबार) नक्सालस्थित होटल मेरियटमा विदेशमन्त्री वाङ र ओलीबीच भेटवार्ता भएको हो । अध्यक्ष ओली चिनियाँ विदेशमन्त्रीलाई भेट्न होटल मेरियट पुगेका थिए । भेटवार्तामा अध्यक्ष ओलीसहित, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराई लगायतका नेताहरु सहभागी रहेका थिए ।

भेटवार्तामा ओलीले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेका हुन् । भेटमा एमाले अध्यक्ष ओलीले सो आग्रह गरिएको हो । एमाले नेता राजन भट्टराईले आज काठमाडौँमा भएको भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिन आफूहरुले आग्रह गरेको जानकारी दिए ।



कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति एमालेले धन्यवाद दिएको थियो । तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको थियो । एमालेले गरेको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रुपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताएका थिए ।

बीआरआईलगायतका परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने विदेशमन्त्री वाङको भनाइ थियो । चिनियाँ विदेशमन्त्री वाङले ओलीसहित आजै राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । यसअघि विदेशमन्त्री वाङले शनिबार साँझ वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । त्यस्तै हिजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो जसमा विभिन्न नौ बुँदे समझदारी गरिएको थियो ।

 

सम्बन्धित समाचार