नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।

तीन दिने भ्रमणमा नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । आज (आइतबार) अपरान्ह विदेशमन्त्री वाङ स्वदेश फर्किएका हुन् ।
उनलाई विदाई गर्न परराष्ट्र मन्त्रालयका कर्मचारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । नेपाल भ्रमणको क्रममा उनी राजनीतिक भेटघाटमा व्यस्त रहेका थिए । शनिबार परराष्ट्र मन्त्री डा. नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका चिनियाँ विदेशमन्त्री वाङले आज राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए ।
त्यस्तै शनिबार चिनियाँ विदेशमन्त्री सहित १९ सदस्यीय टोलीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबीच ९ वटा समझदारीपत्रमा हस्ताक्षार भएको थियो । त्यस्तै नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । गत चैत ११ गते चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आएको थियो ।

