नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ चैत ।
स्थानीय तहका निर्वाचनको उल्टो दिनगिन्ती चलिरहेको बेला आफ्नो असुरक्षित र अनिश्चित राजनीतिक परिस्थितिको तत्वज्ञान पाईसकेका पार्टीहरूको लागि चुनावी गठबन्धन आवश्यक होला । तर, नेपाली काँग्रेसले आफैँ भित्रको शक्तिलाई एकताबद्ध गराउन सक्यो भने यो निर्वाचनमा सफलता हासिल गर्न पार्टीलाई कसैको बैशाखी चाहिँदैन । काँग्रेसले आफ्नै शक्तिमा निर्वाचन लड्दा पार्टीको जनाधारमाथि पूर्ण भरोसा र विश्वास गरेको पुष्टि हुन्छ । जनभावनाले पनि काँग्रेसले चुनाबी गठबन्धन गरेर जनतामा आओस् भन्ने चाहेको किमार्थ देखिन्न ।
काँग्रेसको लागि अपरिहार्य खाँचो पार्टीभित्र विभाजन, पक्षपात, गुटबाजी र चौधौं महाधिवेशनमा उत्पन्न प्रतिष्पर्धाको तिक्तपनलाई मेटाएर सम्पूर्ण एकता कायम गर्नु हो । यसमा सबैको जिम्मेवारीपूर्ण योगदान महत्वपूर्ण हुन्छ । त्यसको लागि पार्टीमा एकता र समन्वयको वातावरण बनाउनु अनिवार्य रुपले आवश्यक छ । एकता र समन्वयको वातावरणमा निर्वाचनमा जाँदा निश्चित रुपमा अनुशासनहिनता र अन्तरघातजस्ता विकृति वा विसंगति उत्पन्न हुनेछैन ।
काँग्रेसमा एकता र समन्वयको वातावरण बनाउने कार्यमा काँग्रेस प्रदेश समितिहरूको महत्वपूर्ण भूमिका रहन्छ । त्यस्तो भूमिकालाई जिम्मेवारी र समझ्दारीका साथ सबैको साथ जुटाएर चुनाबमा जुट्न प्रदेश समितिका आधिकारिक नेतृत्वले बहन गर्नुपर्छ ।
आफूभित्रको शक्तिलाई उपेक्षा गरेर पार्टीबाहिरको गठबन्धनले निर्वाचन जित्ने आसा गर्नु व्यर्थ हुन्छ । तर हाम्रो बागमती प्रदेशमा त्यस्तो अनुकूल र प्रीतिकर वातावरण बनाउनुको सट्टा एकलौटी तरिकाले प्रदेश कार्य समिति गठन गर्ने संसदीय समिति बनाउनुका साथै कार्य सम्पादन समिति र बिभिन्न बिभाग गठन गर्दा आफ्नो प्रतिष्पर्धीले थाहा पाउला जस्तो गरी गठन गर्ने अनि अन्य दलसँग केको गठबन्धन गर्नु रु आफूबिच एकता, सहमति र सहकार्य नगर्ने प्रवृत्तिले कसरि निर्वाचनमा सफलता हासिल गर्ने ?
प्रदेश समिति, संसदीय समिति जस्ता संगठन संरचना निर्माण गर्दा महाधिवेशनका प्रतिष्पर्धीलाई उपेक्षा र एकलौटी गर्ने मनोवृत्तिबाट पार्टी सञ्चालन गर्नुले आसातित परिणाम प्राप्त हुँदैन भन्ने सुझबुझ नेतृत्वले समय छँदै अपनाउनु जरुरी छ । ‘बिग्रे दोषादोष सप्रे खोसाखोस’ को मनोवृत्तिले पार्टी सञ्चालन गर्नु गैरजिम्मेवारी हुने यथार्थ नेतृत्वले आत्मसात गर्नु जरुरी छ ।’
लामो इतिहासमा नेपाली काँग्रेसले जति पनि युगान्तकारी र क्रान्तिकारी कदम चलायो, ती सबै पार्टीको एकल् शक्ति (आफ्नो जनाधार) कै बुतामा नेपाल राष्ट्र रहेसम्म गौरवशाली सफलताका रुपमा इतिहासले अंकित गरेको छ । २००७ सालको जनक्रान्ति, काँग्रेसले बिना कुनै गठबन्धन एकल शक्तिका साथ सम्पन्न गरेको हो । २०३६ को जनमत संग्रहमा काँग्रेस एक्लैले आफूलाई बहुदलीय पक्षका मतको मूख्य हकदार बनायो । हुन त २०३६ सालमा काँग्रेससँग गठबन्धन गर्न चाहने पार्टीको खाँचो थिएन । जननायक बीपी कोइरालाको निर्देशन थियो, ‘यदि तिमी जनताको साथ पाउन स्वयं योग्य र सत्पात्र छौ भने आत्मविश्वास गुमाएर सहारा किन खोज्छौ ?’ २०४२ सालमा काँग्रेसले गठबन्धन नगरी सत्याग्रहको निर्णायक शक्ति देश र दुनियासमक्ष प्रदर्शित गर्न सफल भयो ।
जसरी भारत स्वतन्त्र गराउने शक्ति भारतीय काँग्रेसले जथाभावी गठबन्धन र सिद्धान्तहिन सम्झौता गरेको परिणामस्वरुप आज दुर्दशाको अवस्था भोग्न बाध्य देखिन्छ । त्यसैगरी नेपाली काँग्रेसले पनि २०६३ यता अनेकौं गठबन्धन र सम्झौता गर्ने हुँदा, जनाधारमा बहुमत र निर्णायक हैसियत हुँदाहुँदै पनि प्रतिरक्षात्मक अवस्था भोग्नु परिरहेको छ । अन्य पार्टीसँग औचित्यहिन र सिद्धान्तहिन चुनाबी गठबन्धनको आत्मघाती बाटो नलिऔं । धरातलीय वास्तविकता र जनभावनालाई एकपटक ध्यान दिएर हेरौं । प्यास लाग्यो भन्दैमा विष पिउनु भएन ।