नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ चैत ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा १८ चैतमा भारत भ्रमणमा जान लागेका हुन् । आज (सोमबार) नेपाल र भारतको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको भ्रमणको विषयमा जानकारी दिएको हो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार चैत १९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । मोदीले देउवाको सम्मानमा दिवाभोजको आयोजना गर्ने बताइएको छ ।
त्यस्तै देउवाले भारत भ्रमणको क्रममा भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्ने जनाईएको छ । प्रधानमन्त्री चैत २० गते काठमाडौं फर्कनुअघि वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । यसैगरी देउवाले आफ्नो भ्रमणको अवसरमा नयाँ दिल्लीमा व्यापारी नेताहरूको भेलालाई सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।
भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अरु मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

