नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ चैत ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा फरक मत राखेका छन् । आज (सोमबार) पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन गरेर जानुपर्ने बताएका हुन् ।
शर्माले ०७४ को चुनावी मत परिणामको डाटा राखेका थिए । शर्माले अघिल्लो चुनावमा कांग्रेसले ल्याएको मत र अरु पार्टीले ल्याएकोमा के फरक छ भन्ने बारेमा स्पष्ट पारेका थिए । त्यस्तै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री यस्तो बताएका हुन् । उनले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन् ।
उनले कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने धारणा राखेका थिए । उनले भने, ‘कम्युनिस्टबाट लोकतन्त्र खतरामा छ भनेर हामीले पटक पटक भनेका छौँ । कम्युनिस्टहरूलाई मिल्न नदिन गठबन्धन गरेर जाँदा लोकतन्त्रमाथि खतरा हुँदैन भनेर जाने हो ?’

