नवराज घिमिरे
काठमाडौं, १५ चैत्र ।
स्थानीय चुनावको मिति नजिकिँदै गर्दा सत्ताधारी पार्टीहरू आफ्नो जित सुनिश्चित गर्न गठबन्धनको मेलोमेसो मिलाउनमा व्यस्त देखिएका छन् । तर गठबन्धन गरेर चुनावमा जाने विषयलाई लिएर नेपली काँग्रेसभित्रै पनि एकमत छैन । त्यही कारण केन्द्रीय कमिटीले कुनै ठोस निर्णय लिन सकिरहेको छैन । कुनै गम्भीर विषयमा निर्णय गर्दा केन्द्रीय कमिटीले पार्टीको दीर्घकालीन हितलाई ध्यानमा राखेर गर्ने हो । कुन दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने बहानामा पार्टीभित्र मन विभाजित भयो भने त्यसले चुनाव परिणामलाई प्रतिकूल प्रभाव पार्नेमा दुईमत छैन ।
गठबन्धनका सन्दर्भमा नेपाली काँग्रेसबाट ठोस निर्णय आउन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बर्बराउँदै हिडन थलेका छन् भने समाजवादी दलका अध्यक्ष माधमकुमार नेपाल जसरी पनि गठबन्धनको गाँठो बाँधेरै तिनै तहको चुनावमा जानु पर्छ भनिरहेका छन् । सम्भवतः यी दुबै पार्टीहरू आफ्नो प्रतिष्ठा जोगाउने कठिन मोडमा उभिएका छन् । कुनै बेला प्रभावशाली दल बनेको माओवादी र केपी ओलीसँग राजनैतिक बदला लिन बनेको समाजवादी पार्टीका अध्यक्षद्वय काँग्रेसको सहयोग र सहकार्य विना अस्तित्व जोगाउन नसकिने कुरामा विश्वस्त छन् । अतः वर्तमान नेपालको भूराजनैतिक अवस्था र जनताको मनोविज्ञान बुझेर नै उनीहरू कहिले घुक्र्याएर र कहिले फकाएर भए पनि काँग्रेसको पुच्छर समाएर आफ्नो अस्तित्वको वैतरणी नदी तर्न चाहन्छन् ।
नेकपा एमाले भने आफू एक्लै चुनावी मैदानमा जाने र माओवादी र समाजवादीलाई काँग्रेससँग गठबन्धन हुन नदिने रणनीतिमा देखिन्छ । एमाले अध्यक्ष केपी ओली विशेषगरी समाजवादी दललाई स्थानीय चुनावमा नै पत्ता साफ गरेर माधव नेपालसँग पार्टी विभाजन गरेको राजनैतिक बदला लिन चाहन्छन् । नेपाललाई किनारमा पुर्याउन सके पार्टीभित्र उनको पकड अझ बलियो हुने सुनिश्चित देखिएकोले उनी छोरी कुटेर बहारी तर्साउने दाउमा देखिन्छन् ।
जनताका पक्षमा आकर्षक नारा लगाएर कम्युनिष्टहरू सरकारमा पुगे पनि उनीहरू लामो समयसम्म सत्तामा टिक्न भने सकेका छैनन् । पछिल्लो उदाहरणमा झण्डै दुई तिहाइको जनमत प्राप्त केपी ओलीको सरकारलाई लिन सकिन्छ । पाँच वर्षको म्याण्डेड पाएको बहुमतको सरकार आफ्नै दम्भका कारण ३ वर्ष ७ महिनामा गिर्न पुग्यो । कम्युनिष्टहरूलाई फुटाउनु छ भने सत्तामा पुर्याउनुपर्छ भन्ने गरिन्छ । ओली सरकारले त्यस भनाइलाई पुनः पुष्टि गरिदिएको छ तर ओली आफ्नो असफलताको दोष प्रचण्ड र माधव नेपाललाई लगाउँदै स्थानीय चुनावबाटै यी दुबैलाई किनारा लगाउन चाहन्छन् ।
एमाले पार्टीभित्र केपी ओलीको एकछत्र शासन चलेको छ । उनकै पालामा झण्डै दुई तिहाइको जनमत प्राप्त सरकार असफल भयो, उनकै पालामा पार्टी विभाजन भयो र उनकै पालामा भ्रष्टाचारले उत्कर्षता प्राप्त गर्यो तर त्यसले ओलीको व्यक्तित्वलाई कुनै असर पारेको देखिँदैन । एमालेमा उनको क्रियाकलापका विरुद्धमा प्रश्न उठाउने नेता जन्मिएकै छैनन् भन्दा पनि अन्यथा नहोला । बरू ओलीलाई खुसी तुल्याएर आफ्नो दुनो सोझ्याउन चाहनेहरूका बीच प्रतिस्पर्धा देखिन्छ । यसरी नेतृत्वले सहज रूपमा काम गर्न पाउनु पार्टी जीवनका लागि राम्रो कुरा हो तर यस प्रवृत्तिले नेतृत्वलाई कसरी निरङ्कुश बनाउँदोरहेछ भन्ने कुरालाई पनि ओलीले नै प्रमाणित गरिदिएका छन् । यस पृष्ठभूमिमा हुन लागेको स्थानीय चुनावले कस्तो म्याण्डेड दिने हो सबैका लागि कौतुहलको विषय बनेको छ ।
काँग्रेसको नेतृत्व पनि निष्कलङ्क छैन । काँग्रेस सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीको कुर्सीमा छन् । ओलीको असफलता उनका लागि भाग्योदयको आधार बन्न पुग्यो । उनकै पालामा तीन तहको निर्वाचन हुँदै छ । उनको बुद्धिमत्तापूर्ण कार्यशैलीले उनको मात्र होइन, नेपाली काँग्रेस पार्टी र सिङ्गो देशको भाग्य र भविष्यको रेखाङ्कन गर्ने छ । यस अवस्थामा सिङ्गो देशले उनीबाट सन्तुलित र समन्वयकारी भूमिकाको अपेक्षा गरेको छ । भ्रष्टाचार र बेथितिबाट जकडिएको मुलुकले उनीबाट सुशासन र भ्रष्टाचारका बिरुद्ध ठोस कार्य होस् भन्ने चाहेको छ । यस कार्यमा उनी खरो उत्रिएमा यसले नेपाली काँग्रेसलाई मात्र होइन, मुलुकलाई नै एउटा दिशा निर्देश गर्ने छ । उनीबाट आत्मघाती निर्णय त पक्कै नहोला । देउवाले देशका पक्षमा गर्ने राम्रो कामको थालनी वा सङ्केतले मात्र पनि स्थानीय चुनावलाई प्रभाव पार्ने कुरामा शङ्का छैन ।
व्यक्तिगत गालीगलौचमा उत्रनुबाहेक एमाले, माओवादी र समाजवादीसँग स्थानीय चुनावमा खास्सै सार्थक एजेण्डाहरू छैनन् । यस अवस्थामा प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग चुनौति र अवसर दुबै
छ । प्रधानमन्त्रीका रूपमा सन्तुलित रहेर काम गर्नु र पार्टी सभापतिका रूपमा पार्टीलाई सबैको आशाको केन्द्र बनाउँदै अब्बल तुल्याउनु उनका लागि अग्निपरीक्षा हो । यस अग्निपरीक्षामा उनी खरो उत्रिनुपर्छ, यसैमा सबैको हित निहित छ ।