नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ चैत ।

सरकारले फागुन १४ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध विकास संस्थाको महाप्रबन्धक पदमा संजिव झालाई नियुक्त गर्ने , यही चैत १८ देखि २७ गतेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गर्ने लगायतका १४ निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
त्यस्तै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीलेराजश्व परामर्श समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र जीवन अंगाईलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्युटी फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गर्ने निर्णय
सरकारले चीनले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्रविधि सहायता स्वीकार गर्ने निर्णय
चीन सरकारसँग भएको ‘इप्लिमेण्टेसन एग्रिमेण्ट अफ चाइना एड अन आयल एण्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट नेपाल’ सम्झौताको दुई वर्ष समयावधि थप गर्ने निर्णय
नेपाल–चीन सरकारबीचको ग्रेड आवद्धताको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय
कतारमा मार्च २६ र २७ मा सम्पन्न हुने दोहा फोरमको २० औं संस्करणको सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्वको टोलीको भ्रमणमा समर्थन गर्ने निर्णय
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव तोयम रायको आगामी चैत १८ देखि २७ गते सम्मको भारत भ्रमण स्वीकृत गर्ने निर्णय
नेपाल राजश्व परामर्श विकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र डा. जीवन अंगाईलाई नियुक्त गर्ने निर्णय
दुग्ध विकास संस्थाको महाप्रबन्धक पदमा संजिव झालाई नियुक्त गर्ने निर्णय
जापानका लागि नेपालका पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्रदान गरिने ‘द अर्डर अफ जापान, द अर्डर अफ राइजिङ सन गोल्ड एण्ड सिल्भर स्टार’ सम्मान ग्रहण गर्न स्वीकृत दिने निर्णय
राष्ट्रिय भूमि आयोगको सदस्यमा भैरव रेग्मी र नापी विभाग उपमहानिर्देशक करूणा केसीलाई तोक्ने निर्णय
चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, चितवनलाई ब्याचलर अफ आर्किटेक्चरमा विद्यार्थी संख्या २४ जनासहितको नयाँ कार्यक्रम अध्ययन, अध्यापन गराउन अस्थायी मान्यता प्रदान गर्ने निर्णय
तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय
लोक सेवा आयोग तथा न्याय सेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीका पदहरूमा नियुक्त तथा पदस्थापना गर्ने निर्णय
नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिको लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय

