नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ चैत ।
नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह)ले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । आज (मंगलबार) उनले जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै मंगलबार निवेदन दिएका हुन् ।
पलका तर्फबाट कानून व्यवसायीले तनहुँ जिल्ला अदालत विरुद्ध निवेदन दिएका थिए । पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको छ ।अभिनेता पल शाहलाई जिल्ला अदालत, तनहुँले गत बिहीबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
जबरजस्ती करणीसम्बन्धी कसूरमा अभिनेता पल शाहविरुद्ध किटानी जाहेरी परेको थियो । नाबालिग गायिकाले उनीविरुद्ध किटानी जाहेरी दर्ता गराएकी हुन् । ती गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी थिइन् । अभिनेता शाहले म्युजिक भिडियो सुटिङका क्रममा तनहुँ गएका बेला ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको आरोप लागेको छ । त्यस्तै उनका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । यद्यपि पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै अदालतमा समेत आफूले जबरजस्ती नगरेको बयान दिएका थिए ।