भारत–नेपाल सम्बन्धको विषयमा यसो भने मोदीले

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताएका छन् ।
दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताएका हुन् ।

भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको बताउँदै उनले भने, ‘अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौँ ।’ प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपाल र भारतका नागरिकहरूमा नवरात्रको शुभकामना पनि व्यक्त गरे ।



प्रधानमन्त्री देउवा भारतका पुराना मित्र हुनुहुन्छ भन्दै उनले भारत–नेपाल सम्बन्धलाई उन्नत एवं गतिशील तुल्याउन श्री देउवाले निर्वाह गर्नुभएको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे । आफ्नो पहिलो कार्यकालदेखि नै ‘छिमेक पहिले’ अर्थात् छिमेकीसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेका भारतका प्रधानमन्त्री मोदीले नेपालसम्बन्धी भारतको नीति आत्मीयताले प्रेरित छ भने । नेपालको शान्ति, प्रगति र विकासको यात्रामा सघाउन भारतको प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलसँग बहुआयमिक भारत–नेपाल सम्बन्धका सबै पक्षमा छलफल र समीक्षा भएको जानकारी दिँदै प्रधानमन्त्री मोदीले ऊर्जा क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका बताए । दुई दशकभन्दा लामो समयदेखि गतिहीन बनेको पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई द्रुतगतिमा अघि बढाउने प्रतिबद्धता पनि उनले दोहोर्याए ।रासस

 

सम्बन्धित समाचार