नवकान्तिपुर संवाददाता
काठमाडौं, २० चैत ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ९०९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ५ हजार ८४७ जनाको पीसीआर परीक्षण गर्दा २३ जना र एक हजार ६२ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि भएको छैन ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ६६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६५ हजार ६२५ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८९९ रहेको छ । जसमा ८५८ जना होम आइसोलेसनमा छन् भने ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५ संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७८ हजार ४७५ र एन्टिजेन विधिबाट १ लाख ४० हजार १४० जना पुगेको छ ।