नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत्र ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपालको भ्रमणलगत्तै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् । चिनियाँ विदेशमन्त्रीको भ्रमणपछि देउवाको भारत भ्रमणलाई कूटनीतिक वृत्तमा महत्वपूर्ण रूपमा हेरिएको छ । त्यस्तै स्थानीय तहको मिति नजिकिदै गर्दा भएको यस भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
भ्रमणको क्रममा नेपाल र भारतबीच विभिन्न ४ वटा सम्झौतामा हस्ताक्षर भएको थियो । गत शनिबार नयाँदिल्लीस्थित हैदरवाद हाउसमा द्विपक्षीय औपचारिक वार्तामा नेपाल र भारतबीच विभिन्न ४ वटा सम्झौतामा हस्ताक्षर भएको हो । भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरू, सचिवहरू तथा पदाधिकारीहरू रहेका थिए । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जनाको संलग्नता रहेको थियो ।
देउवा र मोदीबीच ‘वान अन वान’ वार्ता
गत शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान अन वान’ भेटवार्ता भएको थियो । वार्तामा आपसी हितका विषय तथा सम्बन्धलाई अगाडि बढाउने विभिन्न विषयमा महत्वपूर्ण छलफल भएको बुझिएको छ ।
विभिन्न सम्झौतामा नेपाल र भारतबीच हस्ताक्षर
नेपाल र भारतबीच विभिन्न ४ वटा सम्झौतामा हस्ताक्षर भएको छ । गत शनिबार नयाँदिल्लीस्थित हैदरवाद हाउसमा द्विपक्षीय औपचारिक वार्तामा नेपाल र भारतबीच विभिन्न ४ वटा सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका प्रतिनिधिमण्डलबीच उक्त सम्झौतमा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्रविधिक सहयोग, पेट्रोलियम पदार्य आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कार्पोरेसनबीच प्रविधि विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।
यस्तै जलविद्युत् क्षेत्रमा नेपाल–भारतबीच दीर्घकालीन सहकार्यलाई मजबूत गर्ने उद्देश्यका साथ ऊर्जा क्षेत्र सहयोगसम्बन्धी नेपाल–भारत संयुक्त भिजन वक्तव्यमा सहमति भएको छ । नेपाल र भारतबीच जलविद्युत उत्पादन, प्रसारण लाइन निर्माण र जलविद्युल व्यापार बढाउने विषयमा पनि कुराकानी भएको थियो ।
सीमा विवादबारे दुई प्रधानमन्त्रीको छलफल
त्यस्तै देउवा र मोदीबीच सीमासम्बन्धी विषयमा पनि विचार आदानप्रदान भएको छ । दुई देशबीच स्थापित संयन्त्रमार्फत सीमासम्बन्धी विषय संवाद र कूटनीतिमार्फत समाधान गर्न कुराकानी भएको परराष्ट्र मन्त्री डा. नारायण खड्काले जानकरी गराएका छन् । नेपालले गत वर्षको जेठमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।
नेपालमा लगानी गर्न आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । तीनदिने भारत भ्रमणको क्रममा शनिबार भारतको कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) ले आयोजना गरेको कार्यक्रममा व्यापारिक नेतृत्वलाई सम्बोधन गर्दै उनले बदलिँदो आर्थिक तथा राजनीतिक परिवेशमा नेपाल लगानीका लागि उपयुक्त भएको बताएका थिए ।
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै प्रधानमन्त्री देउवाले नेपाल सरकारको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न नेपालमा वैदेशिक लगानी आवश्यक रहेको र सरकारले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सृजना गर्न विभिन्न नीतिगत तथा कानुनी सुधारहरू गरेको समेत जानकारी गराएका थिए ।
भारत–नेपाल सम्बन्धको विषयमा यसो भने मोदीले
भारतका प्रधानमन्त्री मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रूपमा विकास भइरहेको बताएका छन् । उनले भारत र नेपालको मैत्री र दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रूपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको पनि बताएका छन् ।
भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको बताउँदै उनले भने ‘अनादिकालदेखि हामी एकअर्काका सुख–दुःखका साथी हौँ ।’ भारतीय प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपाल र भारतका नागरिकहरूमा नवरात्रको शुभकामना पनि व्यक्त गरे । प्रधानमन्त्री देउवा भारतका पुराना मित्र हुनुहुन्छ भन्दै उनले भारत–नेपाल सम्बन्धलाई उन्नत एवं गतिशील तुल्याउन देउवाले निर्वाह गरेकोे भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।
तीन हवाई रूट उपलब्ध गराउन देउवाको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी समक्ष थप तीनवटा हवाई रूट उपलब्ध गराउन आग्रह गरेका थिए । उनले भैरहवा र पोखरामा अवस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सहज उडान सञ्चालनका लागि एवं नेपालको हवाई ट्राफिकलाई मध्यनजर गर्दै नेपाललाई महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप एयर इन्ट्री रूट उपलब्ध गराउ माग गरेका हुन् ।
जयनगर–जनकपुर रेल सेवाको उद्घाटन
भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले जयनगर–जनकपुर रेल सेवाको शुभारम्भ गरेका थिए । देउवा र मोदीले हरियो झण्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको हो ।
उद्घाटनसँगै रेल नियमित रूपमा चल्ने भएको छ । भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिवासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत उद्घाटनपछि रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्ने काम नियमित रूपमा गर्नेछ । नेपाल रेल्वे कम्पनीका अनुसार जयनगरबाट जनकपुर र जनकपुरबाट जयनगर दैनिक दुई समय रेल गुड्ने छ । एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्ने जनाइएको छ । दुईटा रेलमध्ये आलोपालो गरेर एक एकवटा चलाइने कम्पनीले जनाएको छ ।
मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । सो क्रममा मोदीले आफूले सन् २०१४ र २०१८ मा नेपालको भ्रमण गरेको स्मरण गर्दै सुन्दर देश नेपालको भ्रमणलाई ठूलो महत्व दिएको र उपयुक्त समयमा पुनः भ्रमण गर्ने बताए ।

