विष्णु शीतल
भर्जिनिया, अमेरिका, २२ चैत्र ।
नेपाल फर्किएर वा नफर्किएरै पनि आफूले सिकेकोे ज्ञान, सीप, पैसा आदिबाट आफ्नो मातृभूमिलाई मद्दत गर्न गैरआवासीय नेपालीहरू तत्पर छन् तर यसको लागि एनआरएन नेतृत्व र नेपाल सरकारले उचित वाताबरण मिलाइदिनु पर्नेमा विद्वानहरूले विशेष जोड दिएका छन् ।
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा) को नियमित कार्यक्रम ‘ईन्जा टक’ को पाँचौं श्रृङ्खलामा सहभागी हुँदै अमेरिकाका विश्व विद्यालयहरूमा अनुसन्धान कार्यमा संलग्न विद्धानहरूले उपरोक्त विचार व्यक्त गरेका हुन् । उनीहरूले हालैमात्र सम्पन्न एनआरएनको दशौं महाधिवेशनबाट आएको नेतृत्वलाई उपरोक्त सुझाव दिएका हुन् ।
महाधिवेशनले कुल आचार्य, रविना थापा र बद्री केसीको त्रिकोणात्मक नेतृत्व चयन गरेको थियो, जुन अस्वाभाविक र असुहाउँदो देखिएको तथा नेपालका राजनीतिक दलहरूले आ–आफ्नो भागबण्डा लगाएको आरोप लागेको थियो । एनआरएन नेतृत्वले विशुद्ध गैर आवासीय नेपालीहरू र मातृभूमिको हितमा काम गर्नु पर्नेमा केवल नेपालका राजनीतिक दलहरूको झोला बोकेर उनीहरूको कार्यकर्ता मात्र बनेको आरोप पनि लागिरहेको छ ।
नेपाल फर्क अभियानका अभियन्ता डा.राजेन्द्रप्रसाद पंगेनी र अर्का अनुसन्धानकर्ता डा. तारा सिग्देलले नेतृत्व चयन प्रक्रियाप्रति असहमति जनाउँदै अबको युगमा नेतृत्व चयनका लागि भौतिक उपस्थिति आवश्यक नपर्ने र डिजिटल भोटिङबाट नेतृत्व चयन गर्नु पर्नेमा पनि जोड दिएका थिए । भौतिक उपस्थितिबाट मतदान गर्ने परमपरागत प्रक्रियाबाट झण्झटपूर्ण, खर्चिलो र अन्य कुराहरूबाट पनि प्रभावित हुन सक्ने भएकाले डिजिटल भोटिङबाट नै नेतृत्व चयन गर्ने विधि विधानलाई अनुसरण गरियोस् भन्ने माग पनि उनीहरूको रहेको थियो ।
कार्यक्रममा सामाजिक अभियन्ताहरू परशुराम भण्डारी र रमेश ढकालले पनि तीन अध्यक्ष चयन गरेर एनआरएनको नेतृत्वले राजनीतिक दवाब र प्रभावबाट संस्थालाई अलग राख्न नसकेको आरोप लगाएका थिए । उनीहरूले आम मतदातासँग नेतृत्वले क्षमा माग्नु पर्ने विचार पनि राखेका थिए ।
कार्यक्रममा चीन कोरियालगायतका देशहरूले विदेशमा काम गरिरहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन विभिन्न प्रोत्साहनका कार्यक्रमहरू ल्याएको उदाहरण दिँदै नेपालले पनि बाहिर रहेर ज्ञान, सीप, अनुभव हासिल गरिरहेका जन शक्तिलाई नेपाल फर्किन प्रोत्साहन नगरेसम्म नेपालमा दक्ष जनशक्तिको अभाव भइरहने सुझाव दिइएको थियो । सो अवसरमा नेपाली पासपोर्ट र नागरिकता बोकेर हिँडिरहेको व्यक्तिलाई फरक व्यवहार गर्र्न नहुने कुरामा पनि जोड दिँदै देशको अर्थतन्त्रमा ठूलोे योगदान पुर्याइरहेको विप्रेषण (रेमिटेन्स) आर्जन गर्नेहरूप्रति भने सरकारको व्यवहार प्रोत्साहित गर्ने किसिमको नभएको गुनासो पनि गरिएको थियो ।
ईन्जा टक गत वर्षदेखि शुरू भएको कार्यक्रम हो । यसमा नेपाल र नेपाली समुदायसँग प्रत्यक्ष जोडिएका विषयहरूमा बहस गर्ने गरिएको छ ।
ईन्जाका वरिष्ठ उपाध्यक्ष विष्णु शीतलले सञ्चालन गरेको ईन्जा टक कार्यक्रममा अध्यक्ष गुणराज लुइटेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आउँदो मे ३ तारिकका दिन नेपालमा हुने ईन्जा दिवस र पुरस्कार वितरण कार्यक्रमको बारेमा पनि चर्चा गरेका थिए ।
ईन्जाले हरेक वर्ष मार्च १ तारिक गर्ने गरेको ‘ईन्जा डे’ कार्यक्रम यस वर्ष मे ३ तारिकमा गर्ने भएको छ । स्मरणीय छ– नेपालका मिडिया र मिडियाकर्मीहरूको हित र प्रोत्साहनका लागि ईन्जाले हरेक वर्ष पुरस्कार र प्रोत्साहनको कार्यक्रम गर्दै आएको छ ।