नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ चैत ।

सत्ता गठबन्धनको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो ।
चुनावी गठबन्धन सम्बन्धमा छलफल गर्न बसेको बैठकले पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकरी दिए । त्यस्तै मल्लले आजको बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीन दिने भारत भ्रमणको ब्रिफिङ गरेको र बैठकले समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष निकालेको बताए ।
बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि गरेको छ । यसैगरी बैठकले अन्तरक्रियाबाट प्राप्त हुने सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए । सरकारले आगामी वैशाख ३० गते एकसाथ देशभरका ७५३ वटा स्थानीय तहको निर्वाचन गर्दैछ । यसअघि चैत १७ गते बसेको बैठकले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धन गर्ने निर्णय गरेको थियो ।

