नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ चैत ।

सत्ता गठबन्धनको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो ।
निर्वाचन तयारी तथा अनुगमन समितिमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई र भौतिकमन्त्री रेणुकुमारी यादव र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी रहेका छन् ।
गत चैत्र १७ गते बिहीबार बसेको बैठकले स्थानीय तहको पार्टीगत अवस्थाबारे केन्द्रमा रिपोर्ट गर्न निर्देशन दिएको थियो । आजको बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीन दिने भारत भ्रमणको ब्रिफिङ गरेको र बैठकले समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष निकालेको बताए । बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी बैठकले अन्तरक्रियाबाट प्राप्त हुने सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए । सरकारले आगामी वैशाख ३० गते एकसाथ देशभरका ७५३ वटा स्थानीय तहको निर्वाचन गर्दैछ । यसअघि चैत १७ गते बसेको बैठकले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धन गर्ने निर्णय गरेको थियो ।

