नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ चैत ।
वार्ताबाट सहमति गरी युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनका राष्ट्रपतिले आग्रह गरेका छन् । साउदी अरब समर्थित राष्ट्रपति अब्द रब्बु मन्सुर हादीले सरकारसँग वार्ताको टेबुलमा बसेर सम्झौता गरी युद्ध अन्त्य गर्न सोमबार आह्वान गरेका हुन् । हजारौँ नागरिकको ज्यान जानेगरी भएको सात वर्ष लामो युद्धलाई राजनीतिक तरिकाले अन्त्य गर्नुपर्नेमा उनको जोड छ ।
‘हुथी विद्रोही साथीहरू यमनको राजनीतिको मूल धारमा आउनु होस, वार्ता मार्फत विवाद समाधान गरी युद्ध अन्त्य गर्नुहोस्, मुलुकमा शान्ति कायम होस,’ उनले भने । साउदी अरबको राजधानी रियाद स्थित आफ्नै निवासमा आफ्नै सरकारका मन्त्रीहरूसँगको छलफलका क्रममा उनले हुथी विद्रोहीलाई शान्ति वार्ता मार्फत शान्तिपूर्ण राजनीतिमा ल्याउनु पर्नेमा जोड दिएका हुन् ।
शान्तिपूर्ण तरिकाले देशको राजनीतिक द्वन्द्व अन्त्य गर्न हामी हात दिन चाहन्छौँ, सहकार्य गर्न चाहन्छौँ, त्यसका लागि हामी सबैले पहल गरौँ, उनले भने । संयुक्त राष्ट्रसङ्घको संयोजनमा घोषणा गरेको दुई महिने युद्ध विराम शनिबार अन्त्य भएकोले त्यसैको पर्सी पल्ट उनले यस्तो आह्वान गरेका हुन् ।
यमनमा सन् २०१४ देखि इरान समर्थित युही विद्रोही र साउदी अरब समर्थित सरकारका बीचमा युद्ध हुँदै आएको थियो । युद्धका कारण यमनमा दशौँ हजार मानिसको मृत्यु भएको र ४० लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।