नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ चैत ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । मंगलबार उनले मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेका हुन् ।
मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेको स्रोतले बतायो । ओझासँग मन्त्रीको भनाभन भएको र भनाभनकै क्रममा मन्त्री मनाङले धकेल्दै ओझालाई कुटपिट गरेको मन्त्रालयका एक कर्मचारीले बताए । मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले आफूले पनि त्यहीं सुनेको बताए । ‘म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’
यसैबीच मन्त्रीबाट कुटिएका कर्मचारी ओझाको फोन स्विच अफ रहेको छ । यद्यपि मन्त्री मनाङेले भने आफूले कुटपिट नगरी सम्झाएको बताएका छन् । त्यस्तै कर्मचारी ओझाले आफू अस्पताल भर्ना भएकाे जानकारी दिएका छन् ।

