नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ चैत ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको सरकार कुहिएर झर्न लागेको फलजस्तो अवस्थामा पुगेको बताएका छन् । आज (बुधबार) नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले सरकार जतिसक्दो चाँडो नढलेसम्म देश बर्बादीतिर धकेलिने भन्दै यो सरकार तुरुन्त ढल्नुपर्ने बताएका हुन् । उनले सरकार नढलेसम्म देशको उन्नति र प्रगति नहुने बताए । उनले गठबन्धन सरकारलाई कुहिएको फलसँग तुलना गर्दै यो सरकार कुहिएर झर्ने अवस्थामा पुगेको टिप्पणी गरे ।
‘यो गठबन्धन सरकार कुहिसकेको छ । कुहिएर पनि खत्रक्कै झर्दैन । मज्जाले कुहिसकेपछि आफैं झर्छ । झर्ने समयसम्म हामीले पर्खनु पर्छ । मर्नै लागेको मान्छेलाई पनि प्वाक्क हानेर मारियो भने मुद्दा लाग्छ । यो सरकारलाई हामी ढाल्दैनौं । यो सरकार ढालेको वात पनि नलागोस्। आफैं झरोस् । आफैं ढलोस् ‘ ओली भने ।

