मन्त्री आलेले निर्वाचनपछि ओलीलाई आधा किलोको ढक बनाइदिने भनेपछि…

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले आगामी निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आधा किलोको ढक बनाइदिने बताएका छन् । आज (बिहीबार) भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् ।

उनले गठबन्धनलाई चुनौती दिनु आश्चर्यजनक रहेको भन्दै निर्वाचन पछि एमालेलाई आधा किलोको ढक बनाइदिने चेतावनी दिए । ‘पाँच पार्टी एक हुँदा पनि ओलीले जुँगा हल्लाउँदै हामीलाई चुनौती दिनु आश्चर्यजनक छ ।’ आलेले भने ‘निर्वाचन पछि अब आधा किलोको बनाइ दिन्छौँ ।’ यसअघि एमाले अध्यक्ष ओलीले एमाले एक क्वीन्टलको ढक रहेको भन्दै सत्ता गठबन्धनलाई एक-एक किलोको ढक रहेको बताएका थिए ।



त्यस्तै आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएका छन् । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ ।’ मन्त्री आलेले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने जिकिर गरे । यस्तै उनले कोभिड–१९ का कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको उल्लेख गरे ।

सम्बन्धित समाचार