नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।
नेपालमा आज (आइतबार) सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३०० रुपैयाँ रहेकोमा शुक्रबार रु ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० रहेकामा शुक्रबार प्रतितोला रु ९९ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य शुक्रबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार ३६५ मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार ३५५ मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९४७ डलर आसपास कारोबार भइरहेको छ ।