नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।
बलिउडका चर्चित अभिनेता तथा स्क्रिनराइटर शिव कुमार सुब्रमण्यमको निधन भएको छ । यो खबर सार्वजनिक भएपछि चलचित्र क्षेत्रमा शोकको लहर छाएको छ । शिव कुमारको मृत्यु के कारणले भयो भन्ने बारे अझै केही खुल्न सकेको छैन ।
शिव कुमार सुब्रमण्यम हालै फिल्म ‘मीनाक्षी सुन्दरेश्वर’मा देखिएका थिए । यो फिल्ममा सान्या मल्होत्रा मुख्य भूमिकामा थिइन् । यसका अलावा अभिनेता धेरै फिल्म र टिभी सिरियलमा पनि देखिने गरेका थिए । शिव कुमार सुब्रमण्यम कोइम्बटूरमा जन्मेका थिए । उनले सन् १९८९ मा विधु विनोद चोपडाको फिल्म ‘परिंदा’ को स्क्रिप्ट लेखेर फिल्मी यात्रा सुरु गरेका थिए ।
सुब्रमण्यमले फिल्म ‘हजारौं ख्वाहिशें ऐसी’ र ‘परिंदा’ जस्त फिल्मका स्क्रिनप्ले राइटर पनि थिए । उनले सर्वश्रेष्ठ कथा र सर्वश्रेष्ठ स्क्रिप्टको लागि फिल्मफेयर पुरस्कार समेत जितेका थिए । सुब्रमण्यमले दुई महिना अघि आफ्नो छोरा गुमाएका थिए । उनको छोरालाई ब्रेन ट्युमर भएको थियो ।